कात्तिकमा सरकारले उठायो करिब साढे ८ करोड पुँजीगत लाभकर

कात्तिकमा सरकारले उठायो करिब साढे ८ करोड पुँजीगत लाभकर


बैंकिङ समाचार, काठमाडौं।
सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट कात्तिक महिनामा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँ बढी पुँजीगत लाभकर उठाएको सीडीएससीले विवरण सार्वजनिक गरेको छ।

सरकारले कात्तिक महिनामा अल्पकालीन लगानीकर्ताबाट ४ करोड ६० लाख ४१ हजार बढी र दीर्घकालीन लगानीकर्ताबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएको हो ।

कात्तिकमा संस्थागत लगानीकर्ताबाट १ करोड ११ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको सीडीएससीका सूचना अधिकारी सुरशे न्यौपानेले बताए। कात्तिक महिनामा लामो बिदाका कारण १२ दिन मात्र सेयर बजार खुलेको थियो ।

१२ कारोबार दिनमा १० अर्ब २१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको ३ करोड ९८ लाख ८२ हजार ७४९ कित्ता धितोपत्र कारोबार भएको छ । बजार भने असोज मसान्तसम्म १ हजार ८६४.६२ बिन्दुमा रहेकामा कात्तिकको अन्तिम कारोबार दिनसम्म १ हजार ८५२ बिन्दुमा झरेको थियो ।

सीडीएससीका अनुसार असोजमा कुल २१ करोड ९५ लाख ७९ हजार रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएको थियो।

सरकारले धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई व्यक्तिगत लगानीकर्ताको हकमा दुई प्रकारमा विभाजन गरी कर संकलन गर्ने गरेको छ । अल्पकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पुँजीगत लाभकर व्यवस्था छ ।