ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री डा महत

ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री डा महत



बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताए ।

अहिलेकै व्यवस्थामा देश र जनताका लागि धेरै काम गरेको र अझै गर्न सकिन्छ भन्दै उनले जनताको अपेक्षाअनुसार केही काम हुन नसके पनि आगामी दिनमा यही व्यवस्थाले देशको आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।

नेपालमा सूचना र प्रविधि, जलविद्युत् तथा पर्यटन क्षेत्रका विकासबाटै आर्थिक विकास गर्न सकिने चर्चा गर्दै मन्त्री डा महतले यही देशमा युवाका लागि धेरै अवसर भएकाले त्यसलाई सुक्ष्म रुपमा खोज्न आग्रह गरे । जनताको बलिदानबाट प्राप्त गणतन्त्रात्मक व्यवस्था कसैले खोस्न नसक्ने भन्दै नकारात्मक भावना र्फैलाएर व्यवस्था परिवर्तनको कसैले सोच बनाएको भए त्यो पूरा नहुने बताए ।

मन्त्री डा महतले भने, “जनआन्दोलन र बलिदानबाट आएको अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैको छ भने त्यो सफल हुदैन, त्यस्ता सपना नदेखे हुन्छ ।” सामाजिक सञ्जालमामार्फत भ्रम फैलाउने प्रयास भइरहेको बताए ।

शङ्खधर साख्वालको योगदानको चर्चा गर्दै उनले अहिलेसम्मको उपलब्धिलाई आत्मसात गर्दै नेपाल संवत्लाई कामकाजमा ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गराउने उनको भनाइ थियो ।