राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष बन्न नपाएपछि राजीनामा

राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष बन्न नपाएपछि राजीनामा


बैकिङ्ग समाचार । 
राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिबाट उपेन्द्रकुमार कोइरालाले राजीनामा दिएका छन्। वाणिज्य बैंकको हिजो बसेको सञ्चालक समिति बैठकबाट कोइरालाले अर्थ मन्त्रालयलाई राजीनामा पत्र बुझाएका हुन्। 

रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी समेत रहेका कोइरालालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको जोडबलमा सञ्चालक समिति अध्यक्ष बनाउने गरी नियुक्त गरिएको थियो। 

अहिलेका अर्थमन्त्री विष्णु पौडेलको चाहनामा धनीराम शर्मा बैंक अध्यक्ष बनेपछि कोइरालाले राजीनामा दिएका हुन्।  शर्माले यसअघि पनि पौडेलनिकट रहेर काम गर्दै आएका थिए। 

उनले आफुलाई जुन जिम्मेवारी दिनका लागि मलाई त्यहाँ लगिएको थियो, त्यो जिम्मेवारीको औचित्य सकिएपछि राजीनामा दिएको बताएका छन । 

सञ्चालक समितिको सदस्यका लागि आफूले मरिहत्ते गरेको नभई आफ्नो क्षमता, कौशलता, व्यवस्थापकीय ज्ञानका कारण तत्कालीन अर्थमन्त्री खतिवडाले विश्वास गरेको उनले बताएका छन् । 

गत भदौमा तत्कालीन अर्थमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गरेर उनलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए।  उपप्रधान  ईश्वर पोखरेलका ‘सम्धी’ कोइरालालाई राजनीतिक नियुक्ति दिइएको भन्दै तीव्र विरोध भएको थियो। 

को हुन कोइराला ? 

कोइराला प्राध्यापन पृष्ठभूमिका हुन्।

२०५१ सालयता उनले खाद्य संस्थानको महाप्रबन्धकदेखि, क्याम्पस प्रमुख, उपकुलपति नियुक्तिलगायत पाइरहेकै छन्। 

कोइराला २०५१ सालमा नेकपा एमालेको ९ महिने सरकारका पालामा नेपाल खाद्य संस्थानको महाप्रबन्धक नियुक्त भएका थिए। त्यसपछि उनी २०५४ देखि २०५६ सालसम्म महेन्द्र मोरङ क्याम्पस प्रमुख नियुक्त भए।

क्याम्पस प्रमुखको कार्यकाल पूरा भएपछि उनी २०५९ साल नेपाल आयल निगमको महाप्रबन्धक नियुक्त भए। सम्धी हुनुअघि नै पोखरेल वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा कोइरालाले आयल निगममा नियुक्ति पाएका थिए। 

आयल निगमको कार्यकाल सकिएपछि उनी केही समय सरकारी स्वामित्वका निकायमा नियुक्त भएनन्।

२०६४ सालमा उनी पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदमा उपाध्यक्ष नियुक्त भए।

त्यसपछि उनी एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति थिए।