सेयर बजार फेरि उच्च अंकमा, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

सेयर बजार फेरि उच्च अंकमा, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो


बैंकिङ्ग समाचार । 
पछिल्लो समय नेप्से परिसूचकले दैनिक नयाँ उचाइ कायम गरिरहेको छ। यस साता मात्रै नेप्सेले तीन पटक एक पछि अर्को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९१ अंक बढेर २१९४.४९ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो। यसै साताको पहिलो कारोबार दिन नेप्सेले सो अघिको अलटाइम हाइ रेकर्ड तोडेर २१७५.२८ को नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई हिजो अर्थात बुधबार तोडेर २१७८.५७ को अलटाइम रेकर्ड बनाएको नेप्सेले आज पुनः सो रेकर्डलाई तोडेर २१९४.४९ विन्दुको नयाँ रेकर्ड बनाएको हो।

बिहीबार बजारमा २०८ कम्पनीको ५० हजार ९३३ पटकको कारोबारमा ५ अर्ब ८७ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ४५ करोड रुपैयाँ बढी हो। बुधबार बजारमा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन कारोबारमा आएका ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मल्टीपपर्स फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको एभरेष्ट बैंकको परिवर्तिय अग्राधिकार शेयरको मूल्य यस दिन सर्वाधिक ३.८१ प्रतिशत घटेको छ।