आज नेप्सेमा २०.६७ अंकको वृद्धि, कारोबार रकम एक अर्ब माथि

आज नेप्सेमा २०.६७ अंकको वृद्धि, कारोबार रकम एक अर्ब माथि



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २०.६७ अंकले बढेर एक हजार ८ सय ५० दशमलब ३३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा कारोबार रकम पनि वृद्धि भएको छ । आज एक अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ९५ करोडको मात्रै कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ भने ४० कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज सयपत्रि हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.१५ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोनापुर मिनिरल्य एण्ड वेल्स लिमिटेडको भएको छ । यस कम्पनीको आज १० करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।