बैंकको ऋण लिएर तिर्दिन भन्नेको  कुनै सुनवाइ हुँदैनः अर्थमन्त्री डा. महत

बैंकको ऋण लिएर तिर्दिन भन्नेको  कुनै सुनवाइ हुँदैनः अर्थमन्त्री डा. महत



बैंकिङ्ग समाचार, काठमाडौं ।
ऋण लिएर तिर्दिन भन्नेको राज्यले कुनै सुनवाइ नगर्ने अर्थमन्त्री डा। प्रकाशशरण महतले स्पष्ट पारेका छन्। अर्थतन्त्रको समस्याबारे निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा मन्त्री महतले दीर्घकालीन सोचका साथ जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा सरकारले तदारुकताका साथ काम गर्ने बताए।

छलफलपछि मन्त्री महतले भने, ‘अप्ठ्यारामा परेका व्यवसायलाई सहजीकरण गर्ने विषयमा पनि छलफल भयो। तर, ऋण लिएर तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनवाइ हुँदैन। ऋण तिर्नपर्छ। अप्ठ्यारामा परेकाहरूलाई केही समय दिएर सहजीकरण गर्न सरकार तयार छ। ‘ऋण लिएर नतिर्ने, ठूला कुरा गर्दै नेता पल्टिनेलाई राज्यले सहन सक्दैन। ’ ’

छलफलमा अर्थतन्त्रको अवस्थाबारे मन्त्री महत र नेपाल राष्ट्र बैंकको तर्फबाट गभर्नर महाप्रसाद अधिकारीले वस्तुस्थितिको जानकारी गराएका थिए।

जति पनि मन्त्रालयबाट दायित्व सिर्जना भएर आएको छ, त्यसलाई अर्थमन्त्रालयले सल्टाएको छ । निर्माण व्यवसायीले काम गरेको पेस गरेको बिल तिर्नुपर्छ भन्ने कुरामा अर्थमन्त्रालय स्पष्ट रहेको मन्त्री डा। महतले बताए ।

ऋण तिर्ने समयसीमाबारे सरकारले राष्ट्र बैंकसँगको परामर्शमा सहकार्य गर्ने महतले बताए। निर्माण व्यवसायीको भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालय स्पष्ट रहेको मन्त्री महतले बताए। अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई साथमा लिएर सरकार अघि बढ्ने उनले बताए।