अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै

अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै



बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा आज दिउँसो दुई बजे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । छलफल प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले यसै विषयमा सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलले निजी क्षेत्रसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिका साथै निर्माण व्यवसायी र उद्योगीसँग छलफल गर्नेछन् ।

यो बैठकपछि प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकारले गर्ने केही ठोस नीति तथा कार्यक्रमहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार ब्याजदर घट्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको, रेमिट्यान्स आप्रवाह बढेको, पयर्टन क्षेत्र चलायमान भएको लगायतका विषयमा प्रधानमन्त्रीलाई बिफ्रिङ गरेका थिए ।