मुक्तिनाथ विकास बैंकको प्रगतीः १ करोड ३० लाख पूँजीमा स्थापना, १४ वर्षमा पुग्यो ५ अर्ब

मुक्तिनाथ विकास बैंकको प्रगतीः १ करोड ३० लाख पूँजीमा स्थापना, १४ वर्षमा पुग्यो ५ अर्ब


बैंकिङ्ग समाचार । 
१ करोड ३० लाख रुपैंया चुक्ता पूँजीबाट उपस्थिती जनाएको मुक्तिनाथ विकास बैंक १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । १४ वर्षे यात्रामा बैंकले आफ्नो चुक्ता पूँजी बढाएर ४ अर्ब ७६ करोड रुपैंया पुर्याएको छ । लगानीकर्तालाई प्रतिफल दिँदै, हकप्रद शेयर निष्काशन गर्दे बैंकले व्यवसायसँगै बैंकको आकारलाई बढाएको हो ।

२०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी १ करोड ३० लाख रुपैंया चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो । १४ वर्षको अवधिमा तीन जिल्ला कार्यक्षेत्रलाई बिस्तार गरी राष्ट्रियस्तरको उत्कृष्ट विकास बैंक बनेको मुक्तिनाथले मुख्य कार्यालय काठमाण्डौंको कमलादीमा स्थानान्तर गरिसकेको छ ।

गत असोज मसान्तसम्ममा ४ अर्ब ४ अर्ब ३२ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षको आम्दानीबाट लगानीकर्तालाई १०.२५ प्रतिशत बोनस शेयर तथा ४.२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाँदैछ । उल्लेखित बोनस शेयरलाई समेत पूँजीकरण गर्दा बैंकको चुक्ता पूँजी ४ अर्ब ७६ करोड रुपैंयाभन्दा माथि हुन आउँछ ।

१४ वर्षे यात्रा पुरा गर्दै गर्दा बैंकले शाखा सञ्जाल १३५भन्दा बढी स्थानमा बिस्तार गरेको छ भने २२ भन्दा बढीस्थानमा एटीएम बुथ तथा तीन हजार पाँच सयभन्दा बढी रेमिट्यान्स टर्मिनल सञ्चालन गरिरहेको छ । झण्डै साढै ८ लाख वटा बैंक खाता सञ्चालन गराएको बैंकले एक हजार ४०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ ।

१५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु आयोजना भएका छन् । यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ ।

त्यसै गरी विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न बैंकले भिसा कन्ट्याक्टलेस डेविट कार्ड संचालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन (एन.एफ.सी.) मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पीओएस टर्मिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार २ हजार रुपैंयासम्मको भुक्तानीलाई बिना पिन कन्ट्याक्टलेस कार्ड मार्फत पीओएस टर्मिनल मार्फत भुक्तानी गर्न सकिनेछ ।

भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्ने आदि जस्ता सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।