हिजो घटेको नेप्से ३० अंकले बढ्यो 

हिजो घटेको नेप्से ३० अंकले बढ्यो 


बैकिङ्ग समाचार ।
राजनीतिक अन्यौलताका बीच सोमबार सेयर बजारको परिसूचक नेप्से ३० अंकले बढेको छ। अघिल्लो दिन ९७ अंकले घटेको परिसूचक सोमबार ३०. ३३ अंकले बढेसँगै १९६५. ९६ अंकमा कायम भएको छ। 

हिजो प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेकी थिइन्। यसले गर्दा मुलुकको राजनीतिमा अन्यौलता बढेको छ। 

आज परिसूचक बढे पनि कारोबार रकममा कमी आएको छ। हिजो ९ अर्ब ४ करोडको कारोबार भएकोमा यस दिन ६ अर्ब ६९ करोड रुपैयाँको किनबेच भएको छ। 

ब्यापार ३७ र होटल समूह २३ अंकले घटेका छन्। अरु समूह भने बढेका छन्। 

बैंकिङ २१, विकास बैंक १४, जलविद्युत २५, फाइनान्स ३, निर्जीवन बीमा ७५, उत्पादन १४१ तथा अन्य समूह ३८ अंकले बढेका छन्। माइक्रोफाइनान्स ३४ र जीवन बीमा समूह २०२ अंकले बढेका छन्। 

यस दिन एनआइसी एसिया बैंकको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। त्यस्तै एनएमबि माइक्रोफाइनान्सको मूल्य ६.२ प्रतिशतले बढेको छ।

नारायणी विकास बैंक र युनाइटेड मर्दीको मूल्य ९.८ प्रतिशतले घटेको छ। नेपाल हाइड्रो डेभलपरको मूल्य ५.४ प्रतिशतले घटेको छ। 

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ७२ करोड रुपैयाँको सेयर किनबेच भयो। कम्पनीको मूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेर २१३८ कायम भएको छ। 

त्यस्तै कारोबारका आधारमा दोस्रो स्थानमा पुनर्बीमा कम्पनी रहेको छ। सो कम्पनीको ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने मूल्य प्रतिकित्ता ४४ रुपैयाँले बढेर प्रतिकित्ता १३९० कायम भएको छ।