लघुवित्तका ऋणीलाई पनि साँवा ब्याज भुक्तान गर्ने म्याद ६ महिना थप

लघुवित्तका ऋणीलाई पनि साँवा ब्याज भुक्तान गर्ने म्याद ६ महिना थप


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ऋणीलाई पनि कर्जाको साँवा ब्याज भुक्तान गर्ने समय अवधि थप गरेको छ । आगामी चैत मसान्तसम्ममा पनि ऋणीले कर्जा भुक्तान गर्न नसकेको खण्डमा थप ६ महिना पाउने भएको हो । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोना भाइरसका कारण पेशा वा व्यवसायमा असर गरेकाले कर्जाको साँवा तथा ब्याज भुक्तानीमा समस्या हुन सक्ने भन्दै समय अवधि थप गरेको थियो ।

मौद्रिक नीतिमा किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्तभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गरेको थियो ।

तर, चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत यसलाइ थप सहज बनाएको छ । समीक्षा मार्फत गरिएको ब्यवस्था कार्यान्वनका लागि निर्देशन जारी गर्दै केन्द्रीय बैंकले त्यसपछि पनि ६ महिनाको समय अवधि दिएको हो ।

केन्द्रीय बैंकका अनुसार लघुवित्तीय संस्थाले ऋणीको लिखित अनुरोधमा कोभिड–१९ को प्रभावको सघनता र ऋणीको कर्जा भुक्तान गर्ने क्षमताको विश्लेषण गरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम कर्जाको भुक्तानी अवधिको समाप्ती पछिको ६ महिनाभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्न सक्नेछ ।