राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता


बैंकिङ्ग समाचार । 
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला)  बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता पछि नगरपालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नुनपर्ने भन्ने भ्रम रहेकोले कार्यन्वनयमा चुनौति थपिएको बताउनुभयो । नगर प्रमुख रामेश्वर श्रेष्ठले यो कर्जाले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण हुने बताउनुभयो । 

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताउनुभयो । कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गर्नुभएको थियो । 

उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, नगरपालिकाकी उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम थापा, वडा अध्यक्षहरु, सदस्यहरु, स्थानीय वासिन्दा बेदबहादुर लावती, लुभु शाखाकी प्रबन्धक भावना फुँयाल, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।