इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी पदमा भूपेन्द्र पाण्डे

इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी पदमा भूपेन्द्र पाण्डे


बैंकिङ्ग समाचार । 
इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे भएका छन् । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको कार्यकाल सकिएपछि बैंक सञ्चालक समितिले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।

पाण्डे सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । दुई वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर उनी इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

शंकरदेव क्याम्पसबाट विजनेश स्टडी, एकाउन्टिङ र फाइनान्स विषयमा मास्टर डिग्री हासिल गरेको पाण्डेले दी इन्स्टीच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ इण्डियाबाट एफसीए डिग्री पनि हासिल गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा १२ वर्ष ९ महिना काम गरेका पाण्डे सन् २०१८ सेप्टेम्बरदेखि इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकमा कार्यरत छन् । एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति सदस्य समेत भएर उनले काम गरेका थिए । उनी विगत दुई दशकदेखि बैकिङ र कर्पोरेट क्षेत्रमा कार्यरत छन् ।

यस बैंकले २०७५ मंसिरमा अनुभवी बैंकर्स अनिल ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । ज्ञवालीको दुई वर्ष कार्यकाल यहि मंसिरमा सकिएकाे छ ।

अधिकृत पूँजी २० अर्ब रुपैयाँ भएको यस बैंकले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्दैछ । निकै आशा र भरोसाका साथ स्थापना गरिएको यस बैंकले बजारमा प्रभावकारी उपस्थिति जनाउन भने सकेको छैन ।