चन्द्रागिरी हिल्सको आईपिओमा ४ गुणा बढीको आवेदन, सबैलाई १० कित्ता पर्ने सम्भावना

चन्द्रागिरी हिल्सको आईपिओमा ४ गुणा बढीको आवेदन, सबैलाई १० कित्ता पर्ने सम्भावना


बैंकिङ्ग समाचार ।
चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा माग भन्दा झन्डै ४ गुणा बढीको आवेदन गरेको छ । कम्पनीले निष्काशन गरेको आईपिओमा सोमबार दिउँसो ४:३० बजेसम्ममा २६ सय ९१ आवेदकबाट ११ लाख ९४ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

यो माग गरिए भन्दा ३.८९  गुणा बढी हो । यद्यपि आयोजना प्रभावितलाई मात्र शेयर निष्काशन गरिएकोले तोकिएको क्षेत्रभन्दा बाहेककाले पनि आवेदन दिएको छ वा छैन, त्यो भने भेरिफाई गर्न बाँकि रहेको क्यापिटलले जनाएको छ । तर माग भन्दा बढीको आवेदन परिसकेकोले आवेदन दिने म्याद थप नहुने भएको छ । म्याद थप नहुने भएपछि आईपिओमा पुस १ गतेसम्म मात्र आवेदन दिन सकिने छ  । 

कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो ।

स्थानीयलाई जारि गरिएको यस आईपिओमा काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् । 

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ३ हजार ६० कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  लगानीकर्ताले चन्द्रागिरी हिल्सको कार्यालय थानकोट, सेन्चुरी कर्मशीयल बैंकको बज्रबाराही शाखा, बैंक अफ काठमाडौँको इन्द्र सरोबर शाखा, र ग्लोबल आईएमई बैंकको थानकोट र इमाखेल शाखाबाट आवेदन दिन सक्ने छन् । त्यस्तै आश्वा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ ।  आवेदन दिँदा नागरिकताको प्रतिलिपि र हालसलाई खिचिएको फोटो अनिवार्य गरिएको छ ।  

कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । स्थानीयलाई शेयर जारी गरेपछि कम्पनीले सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।  

 कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।