४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्दै सानिमा बैंक, ब्याजदर ८.५ % 

४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्दै सानिमा बैंक, ब्याजदर ८.५ % 


बैंकिङ्ग समाचार ।  
सानिमा बैंकले पुस १ गतेदेखि ऋणपत्र जारी गर्दैछ।  बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। सोमध्ये ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने १५ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री हुनेछ। अंकित मूल्य प्रतिकित्ता १ हजार रहने ऋणपत्रमा सर्वसाधारणले कम्तीमा २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ।

ऋणपत्रको निश्कासन तथा बिक्रीकर्ताको रुपमा एनआइसी एसिया क्यापिटल रहेको छ। सो ऋणपत्रमा लगानी गर्न इच्छुकले छिटोमा पुस ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। सो मितिभित्र सबै ऋणपत्रका लागि आवेदन नपरेमा ढिलोमा पुस १५ गतेसम्म आवेदन खुल्नेछ।  १० वर्षे अवधि रहेको यो ऋणपत्रमा ब्याजदर ८.५ प्रतिशत तोकिएको छ। लगानीकर्ताले प्रत्येक पुस मसान्त र असार मसान्तमा ब्याज रकम आफ्नो बैंक खातामा प्राप्त गर्दछन्।

 १० वर्षपछि मात्रै साँवा र अन्तिम ब्याजको किस्ता प्राप्त हुनेछ। बैंकले दिने ब्याजमा ५ प्रतिशत पुँजीगत लाभकर भने लाग्नेछ।  बैंकले जारी गरेको ऋणपत्रलाई इक्रा नेपालले न्यून जोखिमको रेटिङ ‘एलए’ प्रदान गरेको छ। यसअघि बैंकले २०७२ साउन २० गते ३७ करोड रुपैयाँ बराबरको ७ वर्षे अवधिको ऋणपत्र जारी गरेको थियो।

त्यसपछि बैंकले २०७५ पुस ३० गते १ अर्ब ३५ करोड ४७ लाख २१ हजार रुपैयाँको ऋणपत्र जारी गरेको थियो। उक्त ऋणपत्रको मिति समाप्ती हुने अवधि २०८५ पुस २९ गते हो। 

बैंकले ऋणपत्रका लागि प्रदान गर्ने ५ लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्वर खुलाउनुपर्नेछ। आफ्नो खाता भएको बैंकको जुनसुकै शाखा (सिआस्बा सदस्य)मार्फत यसमा आवेदन दिन सकिनेछ।