काठमाडौं । सर्वसाधारणका लागि १३ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्मको खुद नाफा बढेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार उक्त अवधिमा ९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा ८ करोड १५ लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षमा कम्पनीको खुद नाफा १ करोड १४ लाख रुपैयाँले बढेको छ ।
तर, कम्पनीको कुल आम्दानी भने घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ थियो। यसअनुसार कम्पनीको कुल आम्दानी १६ करोड रुपैयाँले घटेको देखिन्छ। आम्दानी घटे पनि खुद नाफा बढ्नुले कम्पनीको खर्च व्यवस्थापन र सञ्चालन दक्षतामा सुधार आएको संकेत गर्छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ३७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ईपीएस १८ रुपैयाँ ३६ पैसा थियो । यसले कम्पनीको प्रतिशेयर आम्दानीमा सामान्य वृद्धि भएको देखाउँछ ।
कम्पनीको शेयर पुँजी आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो पुँजी ५० करोड रुपैयाँ थियो। त्यस्तै, कम्पनीको लगानी १२ करोड १५ लाख रुपैयाँ रहेको छ । नगद तथा बैंक मौज्दात भने ५ लाख ५१ हजार ९५१ रुपैयाँ मात्र रहेको वित्तीय विवरणमा उल्लेख छ ।
१३ करोडको आईपीओ, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
दाउन्ने एग्रो फार्मले १३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो ।
कम्पनीले २०८२ भदौ ६ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटलले पाएको छ ।
सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्मसहित पाँच वटा कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापन गरिरहेको छ। सेबोनले २०८२ कात्तिक ११ गते आईपीओ निष्कासनको अनुमति पर्खिरहेका ११७ कम्पनीलाई छ चरणमा वर्गीकरण गरेको थियो । बोर्डको वर्गीकरणअनुसार दाउन्ने एग्रो फार्म चौथो चरणमा परेको छ ।
उक्त चरणमा दाउन्ने एग्रोसहित २१ कम्पनी छन्। यस चरणमा सारथी केबल इन्डस्ट्रिज, डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस, होटल पार्क ल्याड र युनाइटेड मेवा खोला हाइड्रोपावरलगायत कम्पनी रहेका छन् ।

एकीकृत कृषि अवधारणामा तीन सहायक कम्पनी
दाउन्ने एग्रो फार्मले एकीकृत कृषि तथा चक्रीय अर्थतन्त्रको अवधारणाअनुसार आफ्ना सहायक कम्पनीमार्फत कृषि उत्पादनसँग सम्बन्धित विभिन्न व्यवसाय सञ्चालन गरिरहेको छ । समूहभित्रै उत्पादन हुने स्रोत र उपउत्पादनको पुनः प्रयोग गर्दै थप मूल्य सिर्जना गर्ने उद्देश्यले कम्पनीले तीन वटा सहायक कम्पनी स्थापना गरेको हो ।
कम्पनीका सहायक संस्थामा किसान एग्रो इन्डस्ट्रिज, दाउन्ने ट्रे एन्ड प्याकेजिङ इन्डस्ट्रिज र दाउन्ने मल्टी एग्रो एन्ड रिसर्च छन् ।
कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार किसान एग्रो इन्डस्ट्रिजले प्राङ्गारिक मल उत्पादन गर्दै आएको छ। उक्त कम्पनीको चुक्ता पुँजी ५ करोड ३० लाख रुपैयाँ छ । यसमध्ये दाउन्ने एग्रो फार्मको ५ करोड २० लाख रुपैयाँ लगानी छ ।
त्यस्तै, अण्डा राख्ने क्रेट उत्पादन गर्ने दाउन्ने ट्रे एन्ड प्याकेजिङ इन्डस्ट्रिजको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ। यसमा दाउन्ने एग्रो फार्मको २ करोड ९० लाख रुपैयाँ लगानी छ ।
कृषि उपज उत्पादन, बिक्री तथा अनुसन्धानको काम गर्ने दाउन्ने मल्टी एग्रो एन्ड रिसर्चको चुक्ता पुँजी ४ करोड १५ लाख रुपैयाँ छ । यसमध्ये मुख्य कम्पनी दाउन्ने एग्रो फार्मको ४ करोड ५ लाख रुपैयाँ लगानी छ। यसरी कम्पनीले कृषि उत्पादनसँगै मल, प्याकेजिङ र अनुसन्धानका क्षेत्रमा समेत सहायक कम्पनीमार्फत व्यवसाय विस्तार गरेको देखिन्छ ।
सञ्चालक समितिमा को–को छन्?
दाउन्ने एग्रो फार्मको सञ्चालक समितिमा अध्यक्षसहित छ जना छन् । कम्पनीको अध्यक्षमा विनोद पोखरेल छन् । सञ्चालकहरूमा रघुनाथ भट्ट, हेमराज बडाल, युवराज लामिछाने र बिन्दु पोखरेल छन् । त्यस्तै, सुजिता रेग्मी कम्पनीको स्वतन्त्र सञ्चालकका रूपमा रहेकी छन् ।




About Us
प्रतिक्रिया