जापानको बेरोजगार दर ३ वर्ष यताकै उच्च

जापानको बेरोजगार दर ३ वर्ष यताकै उच्च


एजेन्सी, 
जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ ।     
     
वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ ।     
     
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कुल वेरोजगार व्यक्तिको सख्या २१ लाख ४० हजार पुगेको छ ।     
     
जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार शून्य दशमलव २ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३ दशमलव ४ पुगेको तर महिलातर्फको वेरोजगार दर (२ दशमलव ७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको पनि देखाएको छ ।     
     
त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १ दशमलव शून्य ३ रहेकोमा अक्टोबरमा १दशमलव शून्य ४ मा पुगेको अर्थात् हरेक १०० जना व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।     
     
जापान सरकारले महामारीका कारण आर्थिक सङ्कटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छूटको योजना अघि सारेको छ । अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल सङ्कटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पुर्‍याइएको छ ।