कृषि विकास बैंक ह्याक प्रकरण : थप एक पक्राउ 

कृषि विकास बैंक ह्याक प्रकरण : थप एक पक्राउ 


बैंकिङ्ग समाचार । 
कृषि विकास बैंकको सूचना प्रणाली ह्याक गरी रकमान्तर गर्ने थप एक जना पक्राउ परेका छन्। 

महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरेको हो। 

उनलाई महाशाखाको टोलीले आइतबार स्वयम्भूबाट पक्राउ गरेको हो। 

गत वर्ष असोज ७ गते कृषि विकास शाखा कार्यालय न्युरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको थियो।

सो रकमबाट ९ लाख ५० हजार भुक्तानी गरेका थिए। 

उनले श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेका थिए। 

शंका लागेर सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ लगायतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो। 

उक्त घटनाको अनुसन्धान गर्दा गत वर्ष श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरेको थियो।