गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालनमा


काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो स्थापनाको १९औँ वर्ष प्रवेशको विशेष अवसर पारेर बुधबार, २०८३ कार्तिक १८ गतेदेखि बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन्। नयाँ सञ्चालनमा आएको बालुवाटार शाखाबाट ग्राहकहरूले नियमित बैंकिङ्ग सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आम नागरिकको बैंकिङ्ग सेवामा पहुँच विस्तार, वित्तीय समावेशीकरणको सुदृढीकरण तथा सहज र विश्वसनीय वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिएको जनाएको छ।

बैंकका अनुसार शाखा विस्तारलाई भौगोलिक उपस्थितिको वृद्धिमा मात्र सीमित नराखी स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ। बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यकताअनुसारका वित्तीय सेवा सहज रूपमा उपलब्ध हुने र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ। आइएसओ 9001:2015 तथा आइएसओ 27001:2022 प्रमाणित गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।