प्रभु लाइफले पायो ६० करोडको आईपीओ जारी गर्ने अनुमति

प्रभु लाइफले पायो ६० करोडको आईपीओ जारी गर्ने अनुमति


बैंकिङ्ग समाचार । 
प्रभु लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ जारी गर्न अनुमति दिएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ। बीमा समितिले जीबन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।

कम्पनीले शेयर निष्काशन माग गर्दै गत असोज २१ गते बोर्डमा आवेदन गरेको थियो । साधारण शेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन पूर्व इक्रा नेपालबाट क्रेडिट रेटिङ गराएको छ । रेटिङ कम्पनी इक्राले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ र महाविपत्ती जगेडामा एक करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।