१६ जना जुवाडे पक्राउ, १ लाख ३८ हजार बरामद 


काठमाडौं – प्रहरीले देशभरका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– ११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय हिमाल कुमार दाहाल समेत ४ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग  बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार रुपैयाँ र ११ थान ओखर सहित पक्राउ गरेको हो। 

कास्कीको पोखरा महानगरपालिका– २६ बिजयपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय तिलक थापा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो। 

मोरङको पथरी शनिश्चरे नगरपालिका – २ बिष्णु चोक बस्ने सन्तोष कुमार ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा  सन्तोष कुमारसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ९ सय ३० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।