दसैंको किनमेलले बजारमा भीड


काठमाडौं – बडादसैंलगायत चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट घर फर्कनेक्रमसँगै लत्ताकपडासहित घरायसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य सहर र बजारमा उपभोक्ताको भिड लागेको छ। दसैं, तिहार र छठलगायत महत्वपूर्ण पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारमा किनमेल गर्नेको भिडभाड बढेको हो। विगतमा झैँ अहिले काठमाडौंकाे मुख्य व्यापारिक क्षेत्र, सपिङ मल, डिपार्टमेन्टल स्टोर तथा स्थानीय पसलमा ग्राहकको आवागमन बढेको छ।

रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिस चाडपर्व मनाउन घर फर्कने तयारीमा जुटेका छन्। नयाँ लुगा लगाउने रहरले गुल्मी घर भएकी जानकी ज्ञवालीलाई काठमाडौँको न्युरोडमा पुर्‍याएकाे छ। दसैंका लागि लत्ताकपडा खरिद दसैंमा बजारसम्म पुगेकी ज्ञवालीले भनिन्,‘दसैंमा नयाँ लुगा नलगाए चित्तै बुझ्दैन, सस्तो र राम्रो लुगा खोज्दै छु।दसैंको रमाइलो नै यही त हो।’

काठमाडौंको बजारमा १०० देखि लाखौँ मूल्यसम्मका सामग्री उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार किनमेल गरिरहेको उनको अनुभव छ। ‘काठमाडौंमा गरिबदेखि धनीसम्म सबैले आफ्नो क्षमताअनुसार सामान किन्नसक्ने बजार छ। यो राम्रो पक्ष हो’, ज्ञावलीले भनिन्।

चाडपर्व लक्षित छुट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरेको छ। शङ्खमूल टावरमुनि कपडाको सेल बजार सञ्चालन गरिरहेकी व्यापारी आन्सिका थापाले चिसो मौसम सुरु हुन लागेकाले जाडोमा लगाउने कपडा छुटमा बिक्री गरिरहेको बताइन्। दसैँ, तिहार र छठमा उपत्यका बाहिर जाने आफ्नो पसलका मुख्य ग्राहक रहेको उनको भनाइ छ। दसैंको घटस्थापनादेखि सुरु भएको व्यापार अष्टमीसम्म मानिसको चहलपहल हुने गरेको थापाले बताइन्।

चाडपर्वमा घरपरिवार र आफन्तका लागि कोसेली लैजाने चलनले पनि बजारमा किनमेल बढाएको छ। न्युरोडमा घर लैजान पुष्टकारी किन्दै गरेका डोटीका मोहन पनेरुले दसैँका लागि आवश्यक मसलासमेत काठमाडाैंंबाटै किनेर लैजाने गरेको बताए। तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडाैंंबाटै किनेर लैजाने गरेको बताए। गाउँघरमाभन्दा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडाैंबाटैसामान किन्ने गरेको उनको भनाइ छ।

‘मसला लगेपछि घरमा बाआमा खुसी हुनुहुन्छ, ‘दसैं आएको महसुस गर्नुहुन्छ’, पनेरुले भने। यता, ललितपुरको लगनखेलस्थित मङ्गलबजारमा पनि चाडपर्व लक्षित किनमेल गर्नेको चहलपहल निकै बाक्लो छ । सामान्य अवस्थामा पनि व्यस्त रहने त्यस बजारमा अहिले ग्राहकको भिड थेगिनसक्नु छ।

लतितपुरको मङ्गलबजारमा तीन दशकदेखि कपडा व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दसैंमा विगतको तुलनामा व्यापारिक उत्साह कम रहेको अनुभव सुनाए। बाढी पहिरोलगायत विपद्को प्रभाव, बढ्दो महँगी र आर्थिक सङ्कटका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेको उनको भनाइ छ। ‘सामानको मूल्य चर्को छ’, उनले भने, ‘विशेष छुटमा राखेका सामानसमेत बिक्री गर्न चुनौती छ।’ चाडपर्वमा बजारमा चहलपहल बढे पनि उपभोक्ताको क्रयशक्ति र व्यवसायीको व्यापारिक अपेक्षाबिच तालमेल देखिन्न।