वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै २१ लाख ठगी गर्ने चार जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनुषाका योगेन्द्र राउत यादव, भक्तपुरकी एलिसा मधिकर्मी, दार्चुलाका हरिस सिंह महरा र बाराका राजेश प्रसाद जयसवाल रहेका छन्। 

पक्राउ मध्ये योगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ, एलिसाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ, हरिसले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ९१ हजार रुपैयाँ र राजेशले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेका थिए। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।