सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख घुससहित पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई १ लाख घुससहित नियन्त्रणमा लिइएको छ। 

निर्माण सम्पन्न भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार उनीहरूको साथबाट सेवाग्राहीबाट घुसबापत लिएको १ लाख रुपैयाँसहित स्रोत नखुलेको थप ३३ हजार ७०५ रुपैयाँ बरामद गरिएको छ। उनीहरूलाई मलंगवा नगरपालिकाबाट नियन्त्रणमा लिई विशेष अदालतबाट घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।