बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड


काठमाडौं – बाल क्यान्सर उपचारसम्बन्धी राष्ट्रिय गोष्ठीले नेपालमा बाल क्यान्सर उपचारका लागि थप प्रभावकारी समन्वय, उपचारमा पहुँच विस्तार तथा अझ एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्न आह्वान गरेको छ। विश्व बाल क्यान्सर, रमेश गुप्ता मेमोरियल ट्रस्ट र टीएसीसीको संयुक्त आयोजनामा ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा सरोकारवाला सहभागिता गोष्ठी’ गरिएको थियो।

गोष्ठीमा नेपालमा बाल क्यान्सर उपचारको क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्दै रोगको प्रारम्भिक पहिचान, समयमै स्वास्थ्य संस्थामा पठाउने व्यवस्था, उपचारमा समान पहुँच, आवश्यक औषधि तथा परीक्षण, सहायक उपचार, पोषण, मनोसामाजिक सेवा, परिवार सहयोग, उपचारपछिको जीवन तथा उपचारको परिणाम मापनलगायतका क्षेत्रमा अझै रहेका चुनौतीबारे छलफल गरिएको जनाइएको छ।

बाल क्यान्सरलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकतामा थप महत्त्व दिनुपर्ने र क्यान्सर नियन्त्रण तथा सार्वभौमिक स्वास्थ्य पहुँचसम्बन्धी प्रयासमा यसलाई थप प्रभावकारी रूपमा समेट्नुपर्नेमा सहभागीहरूले जोड दिए। गोष्ठीले स्पष्ट जिम्मेवारी, मापनयोग्य लक्ष्य र निश्चित समयसीमासहित बाल क्यान्सरसम्बन्धी समन्वित राष्ट्रिय कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकालेको जारी विज्ञप्तिमा उल्लेख छ।