पर्यटकलाई दुःख हैरानी दिने पाँच जना नियन्त्रणमा


काठमाडौं- पर्यटकलाई दुःख, हैरानी तथा जबरजस्ती गर्ने पाँच जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा‘स्वीप अपरेसन’ सञ्चालन गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा सर्वसाधारण तथा पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै झोला तान्ने, करकाप गर्ने तथा अनावश्यक रूपमा दुःख हैरानी दिने पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।