काठमाडौं – कामना सेवा विकास बैंकले ‘केयर–एनपी बीबीबी माइनस (इस्युअर)’ रेटिङ प्राप्त गरेको छ। यसलाई हेर्दा बैंकले क्रेडिट रेटिङमा स्तरोन्नति गरेको पाइएको छ।
केयर रेटिङ्स नेपाल लिमिटेडले यस बैंकलाई यसअघि ‘केयर–एनपी बीबी प्लस (इस्युअर)’ रेटिङ प्रदान गरेकोमा यसपटक बढाएर ‘केयर–एनपी बीबीबी माइनस (इस्युअर)’ प्रदान गरेको हो। रेटिङ एजेन्सीका अनुसार ‘केयर–एनपी बीबीबी माइनस’ रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यमस्तरको सुरक्षा भएको तथा मध्यमस्तरको क्रेडिट जोखिम वहन गर्ने संस्थाका रूपमा लिइन्छ।
बैंकको पुँजीकोषमा भएको सुधार, कर्जाको गुणस्तर व्यवस्थापनमा देखिएको प्रगति, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, मुनाफामा भएको सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका पक्षलाई आधार बनाएर रेटिङ स्तरोन्नति गरिएको बैंकको भनाइ छ।
रेटिङमा भएको सुधारले निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता, नियामक निकाय तथा अन्य सरोकारवालामाझ बैंकप्रतिको विश्वास थप मजबुत हुने अपेक्षा बैंकले गरेको छ। यसले बैंकलाई प्रतिस्पर्धी लागतमा स्रोत परिचालन गर्न तथा संस्थागत निक्षेप र व्यावसायिक साझेदारी विस्तार गर्नसमेत सहयोग पुग्ने बैंकको विश्वास छ।






About Us
प्रतिक्रिया