नेपाल एसबिआईको नाफा ५४ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति?

नेपाल एसबिआईको नाफा ५४ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति?


बैंकिङ्ग समाचार । 
नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकहरुमा गिरावट देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले २० करोड ५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोड ६७ लाख रुपैयाँ अर्थात ५४.१४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

बैंकको खुद ब्याज आम्दानी,कमिशन तथा डिस्काउण्ट र अन्य सञ्चालन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ५८ लाख ३० हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३ करोड ७३ लाख रुपैयाँ घटेर ५९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३३ करोड ८६ लाख रुपैयाँ घटेर २८ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ।

८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४१ करोड रुपैयाँ थियो।

पछिल्लो तीन महिनामा बैंकको निक्षेप १ खर्ब १० अर्ब ४४ करोड रुपैयाँबाट बढेर १ खर्ब १२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने कर्जा ८९ अर्ब ६१ करोडबाट घटेर ८६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २० रुपैयाँ ७० पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ८ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८.९५ गुणा रहेको छ।

त्यसैगरी, बैंकको निष्क्रिय कर्जा ०.१७ प्रतिशतबाट बढेर ०.२५ प्र्रतिशत पुगेको छ भने आधार दर ९.९४ प्रतिशतबाट घटेर ८.३७ प्रतिशत र स्प्रेड दर ५.१८ प्रतिशतबाट ३.९४ प्रतिशतमा झरेको छ।