चाइनिज कम्पनी जीएसी ब्राण्डको ईभी कारमा आगलागी हुँदा चालकको मृत्यु


काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा चाइनिज कम्पनी जीएसी ब्राण्डको ईभी कारमा आगलागी हुँदा चालककाे मृत्यु भएको छ। उक्त कारमा आगलागी हुँदा चितवनको भरतपुर महानगरपालिका– १२ का चालक अमर पराजुलीको मृत्यु भएको छ। 

नेपालमा जीएसी ब्राण्डका ईभी गाडी चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले बिक्री गर्दै आइरहेको छ। प्रहरीका अनुसार आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको  कारमा अचानक आगलागी भएको हो। 

आगलागीको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र पराजुली जलेर मृत अवस्थामा फेला परेका थिए।

आगलागीबाट कारसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान ७ः३५ बजे जलेको शव कारबाट निकालेर सरकारी अस्पताल भरतपुर पठाइएको थियो, भने क्षतिग्रस्त कारलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।