रोलिङ नेक्सस २३औँ वर्षमा प्रवेश, मानव संसाधन क्षेत्रमा सेवा विस्तार


काठमाडौं – देशकै अग्रणी मानव संसाधन व्यवस्थापन संस्था रोलिङ नेक्सस बिहीबारदेखि २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। सन् २००४ मा देशमा विद्यमान बेरोजगारी समस्यालाई सम्बोधन गर्दै रोजगारदाता र रोजगारी खोज्नेबीच सेतुका रूपमा स्थापना भएको रोलिङ नेक्ससले नेपाली अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको जनाएको छ। रोलिङ ग्रुप अफ कम्पनीकी निर्देशक निशा केसीले संस्थाले स्थापनाकालदेखि नै मानव संसाधन व्यवस्थापन तथा रोजगारी सिर्जनाका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताइन्।

कम्पनीका अनुसार उसले विभिन्न सरकारी कार्यालयदेखि निजी कम्पनी, दातृ निकाय तथा प्रतिष्ठित राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासम्म आवश्यकताअनुसार लाखौँ कर्मचारी उपलब्ध गराउँदै आएको छ। रोलिङ नेक्ससले बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय विकास एजेन्सी, गैरसरकारी संस्था, सरकारी तथा अर्धसरकारी आयोजना लगायतका क्षेत्रमा मानव संसाधन आउटसोर्सिङ सेवा प्रदान गर्दै आएको छ। त्यस्तै, विश्वविद्यालय तथा शैक्षिक संस्था, निजी तथा सार्वजनिक लिमिटेड कम्पनी र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई समेत आउटसोर्सिङ सेवा उपलब्ध गराउँदै आएको कम्पनीका अध्यक्ष एवं युवा व्यवसायी अनुप जङ्गमले बताए।

नियमित मानव संसाधन सेवाका अतिरिक्त कम्पनीले रोजगारदाता ब्रान्डिङ, मानव संसाधन विकास तथा विभिन्न प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ। नयाँ तथा पेशेवर जनशक्तिलाई आवश्यक सीप र क्षमता विकासका लागि विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रममार्फत मानव संसाधन विकासमा संलग्न गराउँदै आएको कम्पनीले जनाएको छ। २२ वर्षको यात्रामा प्राप्त अनुभवलाई आधार बनाउँदै आगामी दिनमा पनि रोजगार बजारको आवश्यकता र बदलिँदो कार्यक्षेत्रअनुसार थप प्रभावकारी मानव संसाधन सेवा विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको जनाइएको छ।