काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाले पूर्वनिर्णयअनुसार उक्त रकम राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरेको हो। सहयोग रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा,साइमेक्स इंक. (बीवाईडी)का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी डिजिपलका तर्फबाट उत्सव कार्की सहभागी थिए।
सहयोग हस्तान्तरणपछि नाइमा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल उद्देश्य विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनु रहेको उल्लेख गरिन्। उनका अनुसार उक्त सहयोग नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट प्रदान गरिएको हो।
उनले संकट र विपद्का समयमा नाइमा सरकार तथा प्रभावित समुदायसँगै उभिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यका लागि प्रतिबद्ध रहने स्पष्ट पारिन्। ‘यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,’ उनले भनिन्।
रसुवामा आएको बाढीका कारण प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न निजी क्षेत्र, संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानले सहयोग गर्दै आएका छन्। नाइमाको यो सहयोग पनि सोही अभियानअन्तर्गत प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको हो।






About Us
प्रतिक्रिया