काठमाडौं – सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ। बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
उता अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
साथै, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ। यसैबिच, आज सङ्घीय संसद्अन्तर्गतका अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दै छ।






About Us
प्रतिक्रिया