काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार साँझ ५ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ६४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ७३, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २६ र नवलपरासी पश्चिममा २ सय २२ वटा रहेका छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार १ सय ४० वटा शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको जनाइएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९२ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३ सय १० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ। यसैबीच, बाढीपछि बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य जारी रहेको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार २ सय ४५ जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया