काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनले उठाएका माग र भावनालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन्। लामिछानेले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण तथा अवसरविहीनताविरुद्ध जेनजी पुस्ताले उठाएको आवाजलाई स्मरण गरिएको छ।
उनले भदौ २३ र २४ गते देशमा भएको घटनालाई नेपालको इतिहासको पीडादायी क्षणका रूपमा उल्लेख गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका तथा कर्तव्य पालनाका क्रममा मृत्यु भएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, आन्दोलनका क्रममा घाइते भएका तथा मानसिक एवं शारीरिक चोट भोगेका व्यक्तिको उपचार, प्रभावित परिवारको उचित हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्।
लामिछानेले जेनजी आन्दोलन कुनै राजनीतिक दल वा नेताको आह्वानमा नभई स्वतःस्फूर्त जागरणका रूपमा भएको उल्लेख गर्दै त्यसलाई कुनै पनि राजनीतिक दलले आफ्नो स्वार्थका लागि प्रयोग गर्न नहुने बताएका छन्। उनले युवा पुस्ताको आक्रोशलाई निराशामा परिणत हुन नदिन नागरिक समाज तथा आम जनसमुदायलाई रचनात्मक खबरदारी गर्नसमेत आग्रह गरेका छन्। विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको बाटोबाट आफूहरू विचलित नहुने प्रतिबद्धता व्यक्त गर्दै लामिछानेले जेनजी आन्दोलनले उठाएका प्रश्नको जवाफ अब व्यवहार र कामबाट दिनुपर्ने बताएका छन्।






About Us
प्रतिक्रिया