काठमाडौं – पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनालाई देशको इतिहासकै पीडादायी घटनाका रूपमा स्मरण गरेकी छन्। भदौ २३ गतेलाई स्मरण गर्दै पूर्वप्रधानमन्त्री कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएका नवयुवामाथि भएको दमनका क्रममा निर्दोष युवाहरूले ज्यान गुमाएको बताएकी छन्। उनले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन्।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै राष्ट्रिय सम्पदा र धरोहरसमेत गुमेको उल्लेख गर्दै कार्कीले त्यस घटनाले राष्ट्रको जीवनमा गहिरो घाउ छाडेको बताएकी छन्। अब त्यस्तो दिन दोहोरिन नदिन सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्नुपर्ने उनको भनाइ छ। पूर्वप्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको बताउँदै सुशासनको अभावमा संसद्को दुई तिहाइ बहुमतले समेत स्थिरता दिन नसक्ने धारणा राखेकी छन्। उनका अनुसार राजनीतिक स्थायित्व संसदीय गणितले भन्दा शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ।
सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने अपेक्षा पनि पूर्वप्रधानमन्त्री कार्कीले व्यक्त गरेकी छन्। यसैगरी, जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको भन्दै उनले विपद्को यस घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न आग्रह गरेकी छन्। पीडितलाई एकअर्काको सहारा बन्दै विपद्को सामना गर्नुपर्नेमा उनले जोड दिएकी छन्।






About Us
प्रतिक्रिया