भोटेकोशी बाढी: तेह्रौँ दिन पनि खोज तथा उद्धार कार्य जारी


काठमाडौं – भोटेकोशी बाढी गएको आज (सोमबार) तेह्रौँ दिन। सरकारले खोज तथा उद्धार कार्य जारी राखेको छ। बाढीबाट ठुलो जनधनको क्षति भएको छ। त्यसका अलावा घर, भवन, सडक, पुल, जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ। खोजका क्रममा भारत, चीन र गणतन्त्र कोरियाका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार संयुक्त अरब इमिरेट्स र मलेसियाका टोली पनि खोज तथा उद्धारमा सहभागी भएका छन्।

प्रभावित जलविद्युत् आयोजनामा अपर त्रिशूली–एक, अपर त्रिशूली थ्री ‘ए’, त्रिशूली थ्री ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङलगायत छन्। ती आयोजनामा खोज तथा उद्धार जारी राख्न थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन भइरहेको छ। प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा दूरसञ्चार सम्पर्क पुनः स्थापना गर्न तथा प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन सम्बन्धित निकायले सक्रिय रूपमा काम गरिरहेका छन्। नेपाली सेनाले इन्जिनियरको टोलीसँग मिलेर ताँदी नदीमाथि अस्थायी पुल निर्माण गरिरहेको छ। पुल निर्माण भएपछि गल्छी–त्रिशूली सडक पुनः सञ्चालनमा आउनेछ।

सरकारको तथ्याङ्कअनुसार हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। त्यसमा ३०० भन्दाबढी विदेशी नागरिक रहेका छन्। पछिल्लो चार दिनमा चार जनाको जीवितै उद्धार गरिएको छ। करिब पाँच हजार अझै बेपत्ता छन। त्यसमा ३५ देशका करिब ६०० विदेशी नागरिक छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ३५५ वटा शव फेला परेको छ।

बरामद गरिएका शवको आवश्यक ‘फरेन्सिक’ प्रक्रिया पूरा गरी सम्बन्धित अधिकारीले अस्थायी रूपमा व्यवस्थापन गरेका छन्। बेपत्ता भएका व्यक्तिका परिवारजनलाई नेपाल प्रहरी अस्पताल, महाराजगन्ज, काठमाडौँ वा नेपालमा रहेको नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अथवा आफू बसेको स्थानमा आफ्नो डिएनए प्रोफाइल तयार गरी पठाउन अनुरोध गरिएको छ।

डिएनए नमुना सङ्कलन, विश्लेषण तथा पहिचानलाई तीव्रता दिन भारत, चीन, जापान, सिङ्गापुर र गणतन्त्र कोरियाका फरेन्सिक टोली, नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकाय आपसी समन्वयमा मिलेर काम गरिरहेका छन। बाढीका कारण चिनियाँ भूमिमा फसेका नागरिकको सुरक्षित फिर्तीका लागि चिनियाँ अधिकारीसँग नियमित सम्पर्क गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

आइतबारसम्म ५३६ जना नेपाली नागरिक तातोपानी नाका हुँदै नेपाल फर्किसकेका छन् भने आज (सोमबार) सोही नाकाबाट थप १०६ जना स्वदेश फर्किएका छन्। हालसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, जापान, संयुक्त राज्य अमेरिका, कतार, सिङ्गापुर, गणतन्त्र कोरिया, अस्ट्रेलिया, जर्मनी, लाटभिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बङ्गलादेश, पाकिस्तान, मालदिभ्स, नर्वे, इजरायल, क्यानडा, श्रीलङ्का, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड, चेक गणतन्त्रलगायत मुलुक तथा युरोपेली सङ्घ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ र यसका विशिष्टीकृत निकायबाट राहत सहयोग उपलब्ध भएको छ।