नेपालका लघुवित्तका पिता डा. हरिहर देव पन्तको एघारौँ स्मृति दिवस सम्पन्न


काठमाडौं नेपालका लघुवित्तका पिता स्वर्गिय डा. हरिहर देव पन्तको एघारौ स्मृती दिवस राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको प्रमुख आतिथ्यतमा र  निर्धन संस्थाका अध्यक्ष देवेन्द्र बहादुर राउतको सभापतित्वमा निर्धन भवनमा सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्था निर्धन तथा डा. हरिहर देव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले सहभागि सबैलाई स्वागत गर्दै नेपालमा अहिले पनि करिब २० प्रतिशत जनता गरिबिको रेखामुनि रहेकोले देशमा गरिबी निवारण गर्न डा. हरिहर देव पन्तले गरेको लघुवित्त सेवाको मार्गदर्शनको मूल्य, मान्यतालाई अझै प्रभावकारी रूपमा अनुसरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा डा.हरिहर देव पन्तको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन र समृद्धिको मार्गमा, २०८३ लघु उद्यमीहरूको सफलताको कथा सङ्ग्रह पुस्तक विमोचन प्रमुख अतिथि डा. गुणाकर भट्ट सहित अतिथि डा. रेवत बहादुर कार्की, डा. फत्त बहादुर के.सी, देवेन्द्र बहादुर राउत र जनार्दन देव पन्तले सामूहिक रूपमा लोकार्पण गरे । निर्धन उत्थान लघुवित्त संस्थाले लघुवित्त सेवाको माध्यमबाट सफल उद्यमीहरूको संर्घष र सफलताको कथा हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।

कार्यक्रममा डा. हरिहरदेव फाउन्डेसनले डा. पन्तले लिनु भएको अभियानलाई सार्थक तुल्याएर टेवा पुर्‍याउन हरेक वर्ष विभिन्न पुरस्कारहरू वितरण गर्दै आएको छ । यस वर्षको डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार, लघु उद्यमशील पुरस्कार र आर्थिक पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।

आर्थिक क्षेत्रमा योगदान पुर्‍याउन विद्यार्थीको मनोबल वृद्धि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा सञ्चालित डा. हरिहर देव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र सन् २०२१—२०२३ मा ३.७७ अंक प्राप्त गरी सर्वप्रथम स्थान हासिल गर्न सफल भएका कमल पौडेले लाई नगद ५० पचास हजारसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

यस्तै, लघु उद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघु उद्यमीहरूको मनोबल वृद्धि गरी हौसला प्रदान गर्न  लघु उद्यमशील पुरस्कार कार्यक्रम अन्तर्गत कोसी प्रदेशबाट भोजपुरकी शान्तिमाया तामाङ, मधेस प्रदेशबाट गरुडा, रौतहटकी रैमलवा देवी, बागमती प्रदेशबाट रामकोट, काठमाडौँकी रसिला तामाङ, गण्डकी प्रदेशबाट गाईखुर गोरखाकी धनमाया गुरुङ्ग, लुम्बिनी प्रदेशबाट  कोहलपुर, बाँकेकी सोबिता काफ्ले, कर्णाली प्रदेशबाट विद्यापुर सुर्खेतकी पदमा देउवा रोकाय, सुदूरपश्चिम प्रदेशबाट अमरगढी, डडेलधुराकी कविता सांकी गरी सातै प्रदेशका सात जना उत्कृष्ट उद्यमीहरूलाई डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार स्वरूप जनही नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । बागमती बाहेक अन्य प्रदेशका पुरस्कृत उद्यमीहरूलाई प्रदेशमा नै कार्यक्रम आयोजना गरेर पुरस्कार वितरण गरिएको हो ।

यसैगरी, डा.पन्तको हरेक स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गदै आएको सर्वोत्कृष्ट हुन सफल लगानी न्युज डटकमका सम्पादक आशीष ज्ञवालीलाई पुरस्कार स्वरूप नगद.१ लाख सहित सम्मान–पत्र प्रदान गरिएको छ । कार्यक्रममा पुरस्कार प्रमुख अतिथि र अतिथिहरूले वितरण गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर  भट्टले हरेक वर्ष  डा. पन्तको स्मृतिमा अध्यक्ष जनार्दन देव पन्तको सक्रियतामा स्थापित डा. हरिहर देव पन्त फाउन्डेसन डा.पन्तको स्मृति दिवसमा आफू निरन्तर सहभागी हुँदै आएको बताउँदै यस कार्यक्रमबाट समाजलाई प्रेरणा र महत्त्वपूर्ण सन्देश दिन सफल भएको बताए । यस क्रममा विपन्नलाई उद्यमशील बनाउन लघुवित्तले वित्तीय सेवाका साथै गैर वित्तीय सेवा प्रवाह गर्दै गएमा वर्तमान समयमा देखिएका चुनौतीहरूको सहजै सामना गर्न सकिने बताए ।