कठमाडौं – स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले नेपाल अहिले आर्थिक रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको बताएका छन्। अध्यक्ष ढकालले बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ लाई सम्बोधन गर्दै सो बताएका हुन्।
पछिल्लो समय अर्थतन्त्रमा आशाका किरणहरू देखिन थालेको उल्लेख गर्दै उनले आर्थिक विकासलाई गति दिन विदेशी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए। ढकालले लगानीको वातावरण सुधारका लागि नीति तथा नियम निर्माण मात्र पर्याप्त नहुने भन्दै नीति, नियम र व्यवहारबीचको दुरी घटाउनुपर्ने आवश्यकता औंल्याए।
‘नेपाल अहिले आर्थिक रूपान्तरणको महत्त्वपूर्ण चरणमा छ। विदेशी लगानी आकर्षित गर्ने र नीति, नियम र व्यवहारबीचको दुरी घटाउनुपर्छ,’ ढकालले भने।
यस्ताे छ ढकालकाे मन्तव्य
सर्वप्रथम बैंकिङ समाचारले ‘क्यापिटल मार्केट कन्फरेन्स २०२६’ को अवसरमाशेयर बायर/इन्भेस्टर एसोसिएसन अफ नेपालले पूँजी बजारको दिगो विकास, सुशासन र प्रभावकारी नीति निर्माणमा रचनात्मक योगदान पुर्याउने उद्देश्यका साथ निरन्तर विभिन्न छलफल, गोष्ठी तथा क्रियाकलापहरू आयोजना गर्दै आएको छ।हामी विश्वास गर्दछौँ कि यस्ता सार्थक संवाद र विचार मन्थनबाट प्राप्त निष्कर्षहरूले पूँजी बजारलाई अझ पारदर्शी, प्रतिस्पर्धी, विश्वसनीय तथा लगानीमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछन्। यस कार्यक्रममा सहआयोजक भई सबै सरोकारवालाहरूलाई एउटै मञ्चमा विचार मन्थन गर्ने अवसर प्रदान गर्न पाएकोमा हामी खुसी व्यक्त गर्दछौँ र कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौँ।
आज यस कार्यक्रममा विभिन्न प्यानल छलफल तथा कार्यपत्र प्रस्तुतिमार्फत नेपालको पूँजी बजारको वर्तमान अवस्था, यसमा निहित समस्या र चुनौतीहरूबारे जानकारी गराउँदै आगामी दिनमा नेपाली पूँजी बजारको बृहत्तर विकासका लागि नियामक निकाय तथा सम्पूर्ण सरोकारवाला पक्षहरूलाई मार्गदर्शन गर्ने कार्यदिशा प्रदान हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व प्राप्त गरेपछि हाम्रो पूँजी बजारको विकास र आधुनिकीकरणमा आशाका किरणहरू देखिएका छन्। पूँजी बजारका सम्पूर्ण सरोकारवालाहरूको तर्फबाट यो अग्रसरताका लागि नेपाल धितोपत्र बोर्डका अध्यक्षज्यूप्रति यसै मञ्चबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। आजको यो कार्यक्रमले बोर्डले लिएको वर्तमान कार्यदिशालाई थप मजबुतीका साथ अगाडि बढाउन मद्दत गर्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।
आजको विश्व अर्थतन्त्रमा पूँजी बजार केवल शेयर किनबेच गर्ने थलो मात्र होइन; यो राष्ट्रको आर्थिक रूपान्तरण, औद्योगिक विस्तार, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक समृद्धिको आधारस्तम्भ हो। कुनै पनि राष्ट्रको विकास केवल सरकारी बजेटबाट मात्रै सम्भव हुँदैन। आर्थिक समृद्धि र उन्नतिका लागि आवश्यक दीर्घकालीन तथा अल्पकालीन पूँजी संकलन र परिचालन गर्ने सबैभन्दा प्रभावकारी माध्यम पूँजी बजार नै हो।
नेपालमा पूँजी बजार सुरुवात भएको ३० वर्ष नाघिसके तापनि यसको विकास, स्थायित्व र आधुनिकीकरणको दिशामा हामीसँगै बजार सुरुवात गरेका अन्य देशहरूको तुलनामा धेरै कामहरू गर्न बाँकी नै छन्। विशेष गरी नीति (पोलिसी), पूर्वाधार, प्रविधि र प्रडक्टका हिसाबले हामीले थुप्रै कार्यहरू गर्नुपर्ने आवश्यकता महसुस गरेको छु।
धितोपत्र ऐन २०६३ बनेर लागू भएको करिब २३ वर्ष बितिसकेको छ। यस बीचमा पूँजी, प्रविधि, प्रडक्ट तथा पूँजी संकलनका क्षेत्रका साथै लगानीका नीति-नियमहरूमा आमूल परिवर्तन आइसकेका छन्। ती सबै विषयहरूलाई समेटेर बलियो र आधुनिक धितोपत्र बजारको आधार निर्माणका लागि धितोपत्र ऐनमा अहिलेसम्म आवश्यक संशोधन हुन सकेका छैनन्।
प्रडक्टको कुरा गर्दा, धितोपत्र बजार सञ्चालन भएको तीन दशक नाघिसक्दा पनि हामीसँग नियमित कारोबार हुने औजारका रूपमा केवल सूचीकृत कम्पनीहरूको साधारण शेयर मात्र छ। यसबाहेक डिबेन्चर र सामूहिक लगानी कोष (म्युचुअल फण्ड) मात्र उपलब्ध छन्। धितोपत्र ऐनको सच्चा अर्थमा कारोबार गराउन बजार सहभागीदेखि नियामक निकायसम्मको उदासीनताका कारण डेरिभेटिभ्स, अप्सन्स र फ्युचर्स जस्ता प्रडक्टहरू तयार गरी सञ्चालनमा ल्याउन सकेका छैनौँ।
यसका साथै, स्पट कारोबार तथा मार्जिन कारोबार जस्ता सरल सुविधाहरूलाई पूर्ण रूपमा प्रयोगमा ल्याउन सकेका छैनौँ। हाम्रो बजारमा अहिलेसम्म २५ प्रतिशत मार्जिन बाँकी रहँदा दुई दिनभित्र दिने जस्ता सुविधा प्रदान गर्दै नगद बजारलाई नै जोखिमयुक्त बजारका रूपमा अभ्यास गर्ने बाध्यता छ।
आजको समयमा पूँजी बजार कुनै पनि देशका लागि अपरिहार्य बनेको छ। विकसित देशका पूँजी बजारमा लगानीका लागि उपयोग गरिने औजार केवल कम्पनीहरूको साधारण शेयर, डिबेन्चर, म्युचुअल फण्ड र सरकारी ऋणपत्रमा मात्र सीमित छैनन्। आजका दिनमा लगानीका औजारका रूपमा इन्डेक्स फण्ड, फरेन करेन्सी प्रडक्टहरू, कमोडिटिज र क्रिप्टो लगायतका डिजिटल सम्पत्तिहरू ठूलो मात्रामा उपलब्ध भई कारोबारमा प्रचलित भइसकेका छन्। हाम्रो देशमा पनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सो दिशातर्फ अग्रसर हुनका लागि के-कस्ता पूर्वाधार, कानुनी ढाँचा, जनशक्ति तथा लगानीकर्ता आवश्यक पर्ने हुन् र सो अनुसार हामीले के-के कुराहरू तयार गर्नुपर्ने हो, सो विषयमा समेत आजको यस कार्यक्रममा गहन छलफल हुनेछ भन्ने मैले विश्वास लिएको छु।
विशेषगरी, वर्तमान परिवेशमा नेपालीहरू रोजगारी र अध्ययनका लागि विश्वका विभिन्न मुलुकमा पुगिसकेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध पूर्वाधार र अवसरहरूमा आफ्नो रकम लगानी गर्दै आएका छन्। यदि सो लगानी रकम नेपालमै भित्र्याउने वातावरण बनाउन सकिने हो भने यसबाट राज्यले ठूलो राजस्व प्राप्त गर्नुका साथै थप विदेशी मुद्रा नेपाल भित्रिने थियो। तसर्थ, हाम्रो नियामक निकायले यस विषयमा ध्यान दिँदै आगामी दिनमा आवश्यक नियम, विनियम, प्रविधि तथा पूर्वाधारहरूको तयारी गर्नेतर्फ ध्यान दिनेछ भन्ने विश्वास छ। अन्त्यमा, नेपाल आर्थिक रूपान्तरणको महत्त्वपूर्ण चरणमा छ। यस्तो अवस्थामा हाम्रो पूँजी बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनु आजको आवश्यकता हो। बजारप्रति लगानीकर्ताको विश्वास बढाउनु, संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नु, विदेशी लगानी आकर्षित गर्नु तथा आधुनिक वित्तीय उपकरणहरूको विकास गर्नु हाम्रो साझा जिम्मेवारी हो। आजको कार्यक्रमको उद्देश्य केवल समस्याहरूको चर्चा गर्नु मात्र होइन, नीति, नियम र व्यवहार बिचको दूरी घटाएर नेपालको पूँजी बजारलाई नयाँ युगतर्फ अगाडि बढाउने साझा मार्गचित्र तयार गर्नु पनि हो। आजको यो छलफल पूर्ण रूपमा सोही दिशातर्फ केन्द्रित हुने विश्वासका साथ, फेरि पनि यस कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरो वक्तव्य यही अन्त्य गर्दछु। धन्यवाद।






About Us
प्रतिक्रिया