विराटनगर – भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।
कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जीवन विकासले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
जीवन विकासमा कार्यरत कर्मचारीको एक दिनको पारिश्रमिक तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरी कुल २५ लाख ५ हजार रुपैयाँ कोषमा जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जयकुमार मण्डलले जानकारी दिए।
‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले सहयोग गरेका हौं,’ सीईओ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित तथा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं।’
संस्थाले गत भदौ १० गते आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै समवेदना समेत प्रकट गरेको छ।
मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले हाल कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ग्रामीण क्षेत्रका नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको छ।






About Us
प्रतिक्रिया