बाढी पीडितका लागि नेपाल बीमा प्राधिकरणले गर्यो १० करोड सहयोग


काठमाडौं – बाढी पीडितका लागि नेपाल बीमा प्राधिकरणले १० करोड सहयोग गर्ने निर्णय गरेको छ । प्राधिकरणले बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत प्रदान गर्न र आपत्कालीन आवश्यकताहरू पूरा गर्न बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

भदौ १० गते रसुवा नुवाकोट भागमा गएको बाढीका कारण जनधनको अपूरणीय क्षति भएको छ । विशेष गरी रसुवा र त्रिशूली क्षेत्रमा बाढीले पुर्याएको विनाशकारी क्षतिप्रति प्राधिकरणले दुःख व्यक्त गरेको छ । ‘यस विपद्‌को घडीमा पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, उनीहरूको तत्काल उद्धार, राहत र पुनस्थापना कार्यमा हातेमालो गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले महत्त्वपूर्ण निर्णय गरेको छ’ प्राधिकरणले भनेको छ ।

विपद्‌को समयमा सरकारको राहत तथा पुनस्थापनाको प्रयासमा टेवा पुर्याउने र पीडितहरूलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ । प्राधिकरणले नियमनकारी निकायको रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वप्रति पनि सधैँ प्रतिबद्ध रहेको छ। बाढीका कारण मानवीय तथा भौतिक पूर्वाधारमा भएको क्षतिको विवरण संकलन गर्न र बीमा दाबी भुक्तानीलाई छिटो, छरितो र सहज बनाउन प्राधिकरणले हातेमालो गर्ने प्रतिबद्धता जाहेर गर्दै, संकटको घडीमा बाढी प्रभावित क्षेत्रका आम सर्वसाधारणहरूको जीवनलाई सहज तुल्याउन र पीडित परिवारलाई राहतको महसुस गराउन सम्पूर्ण बीमाका सरोकारवालाहरूलाई आआफ्नो ठाउँबाट योगदान पुर्याउन समेत आग्रह गरेको छ ।