एभरेष्ट बैंकद्धारा चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा घट्यो

एभरेष्ट बैंकद्धारा चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा घट्यो


बैंकिङ्ग समाचार । 
एभरेष्ट बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले पहिलो त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा भने ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको खुद नाफा ५१.५४ प्रतिशतले घटी हो । 

समिक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १३ करोड ५९ लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद व्याज आम्दानी घटेर १ अर्व २ करोड रुपैयाँमा सिमित भएको छ भने सञ्चालन नाफा पनि घटेर ४७ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्व ५१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषको रकम घटेर ८ अर्व ७ करोड रुपैयाँ रहेको छ । त्यस्तै रिटेन्ड अर्निङ्ग १ अर्व ७९ करोड रुपैयाँबाट बढेर २ अर्व १२ करोड रुपैयाँ जम्मा भएको छ भने सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ सञ्चित भएको छ ।

बैंकले अघिल्लो असोज मसान्तसम्ममा १ खर्व ५६ अर्व ५४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्व१५ अर्व ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । त्यस्तै प्रतिसेयर आम्दानी घटेर १५.७३ रुपैयाँमा झरेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४.९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २२३.३२ र मूल्य आम्दानी अनुपात ४४.९७ गुणा कायम रहेको बैंकको जनाएको छ ।

बैंकको निष्क्रिय कर्जा बढेर ०.२२ प्रतिशत रहेको छ भने बेस रेट ७.०७ प्रतिशत र स्प्रेड रेट ३.९४ प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद कर समेत गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।