काठमाडौं – रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाल लाइफले प्रदान गरेको सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। कम्पनीका अनुसार उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विपद्को यस कठिन समयमा नेपाल लाइफले प्रभावित परिवारहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा सङ्कटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने जनाएको छ। नेपाल लाइफले प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिकलाई समेत आग्रह गरेको छ।






About Us
प्रतिक्रिया