काठमाडौं – एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गरेर काठमाडौं–धादिङ आउजाउ खुला गरिएको हो। उद्घाटनको समयदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा यूनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए।
परीक्षणस्वरुप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ। ‘परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ। अब यो हप्ता विश्लेषण गर्छौं। चालकलाई सवारी चलाउँदाको समस्या, अनुभव के–के भयो भन्ने बुझ्छौँ,’ उनले भने। तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताए । उनकाअनुसार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिने छ। आज बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालन गरिएको उनले जानकारी दिए।
सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ। सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा यूनिट, शुल्क संकलन गर्ने यूनिटसहित सुरुङभित्रका गतिविधि सीसीटीभीमार्फत निगरानी गरेर आन्तरिक तयारी भइरहेको श्रेष्ठले सुनाए।
करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि साउन ११ मा उद्घाटन गरिएको थियो। नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरेका थिए। २०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो। कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो।
शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो। ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ। यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ। पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन्।
सुरुङ प्रयोग निशुल्क भने होइन। नियमित सञ्चालनमा आएपछि काठमाडौं भित्रिँदा र बाहिरिँदा काररभ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ। मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ। जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो। तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो। यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो। यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो।






About Us
प्रतिक्रिया