नेतृत्वमाथिको संकटसँगै बिग्रियो प्रभु बैंकको ‘ब्यालेन्स सिट’

१९ जना उच्च तहका कर्मचारी समातिए, थप समातिने जोखिम कायमै


काठमाडौं – सिंगो नेतृत्वमाथि संकट परेसँगै प्रभु बैंकको वित्तीय अवस्थामा दबाब बढेको देखिएको छ । बैंकको नाफा घट्नु, खराब कर्जा बढ्नु र वितरणयोग्य मुनाफा ऋणात्मक रहनुले बैंकको ‘ब्यालेन्स सिट’ दबाबमा रहेको प्रस्ट हुन्छ । बैंकको अधिकांश वित्तीय सूचक संकटमा नै छ ।

बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले २४ करोड बढी घाटा व्यहोरेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकले २४ करोड १२ लाख घाटा व्यहोरेको हो । जबकि बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८७ करोड २३ लाख खुद नाफा आर्जन गरेको थियो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा १९ बैंकको नाफामा सुधार आउँदा प्रभु बैंक भने घाटामा देखिएको हो ।

सार्वजनिक विवरणअनुसार बैंकको आम्दानीको मुख्य स्रोत ब्याज आम्दानी देखिएको छ । सामान्यतया बैंकको ब्याज आम्दानी बढ्दा नाफा पनि बढ्न जान्छ । तर, प्रभु बैंकको खुद ब्याज आम्दानी २ अर्ब बढीले बढ्दा पनि बैंकको नाफामा भने घटेको हो । बैंकले गत असारसम्म ९ अर्ब २६ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ । जबकि अघिल्लो वर्ष बैंकले ७ अर्ब १९ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्षको अन्त्यसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड ७२ लाख, कुल सञ्चालन आम्दानी १२ अर्ब ६७ करोड १४ लाख र सञ्चालन नाफा १ अर्ब ५९ करोड ३१ लाख रहेको छ । बैंकको कर्मचारी खर्च बढ्दा पनि सञ्चालन नाफा घटेको हो । बैंकको नाफामा नै धक्का लाग्दा वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएको छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड ३१ लाख ऋणात्मक छ । अघिल्लो अर्थिक वर्षमा पनि बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड ५४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । तर, गत वर्ष थपिएर ६ अर्ब नाघेको हो । बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ३.७१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष घटेर ६.५६ रुपैयाँ ऋणात्मक छ ।

यता, बैंकको खराब कर्जा १५ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कुल खराब कर्जा अनुपात सामान्यतया ५ प्रतिशत भन्दा कम हुनुपर्ने व्यवस्था गरेको छ । तर, संस्थागत निक्षेप संकलन तथा अन्य केही निश्चित व्यवस्था र सहुलियतका लागि राष्ट्र बैंकले यसको सीमालाई बढाएर ८ प्रतिशतसम्म पुर्याएको छ । यस्तो अवस्थामा प्रभु बैंकको खराब कर्जा भने १५ प्रतिशत नाघेको हो ।

बैंकको खराब कर्जाको अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेकोमा गत वर्ष बढेर १५.५५ प्रतिशत पुगेको छ । बैंकको कर्जा असुली प्रभावित बन्दा खराब कर्जा बढेको हो । अब संस्थागत निक्षेप संकलन तथा अन्य केही निश्चित व्यवस्था र सहुलियतमा समेत प्रभु बैंक समावेश हुन नपाउने र राष्ट्र बैंकको कारबाहीमा पर्ने जोखिम पनि बढेको छ ।

लगानी भएको कर्जा जोखिममा परेपछि बैंकले छुट्याउने प्रोभिजनिङ पनि बढेको छ । गत वर्षमा खराब कर्जा बढेपछि बैंकले ४ अर्ब ९४ करोड प्रोभिजनिङ छुट्टाएको छ । बैंकको खराब कर्जा बढ्दा त्यसबापतको सम्भावित नोक्सानी व्यवस्थापन गर्नुपर्ने भएकाले बैंकको नाफामा प्रत्यक्ष दबाब परेको हो ।

नेतृत्व संकटमा

प्रभु बैंकको कर्जा अपचलन प्रकरणमा बैंकका पदाधिकारी, कर्मचारी तथा ऋणी समेत गरेर १९ जना पक्राउ परिसकेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभुको कर्जा अपचलसँग सम्बन्धित अनुसन्धानका क्रममा हालसम्म १९ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।

उनका अनुसार प्रभु बैंकको कर्जा अपचलनसँग सम्बन्धित चार वटा बैंकिङ्ग कसुरका मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता भइसकेका छन् । यसमा २९ जनालाई प्रतिवादी बनाइएको छ । प्रभु म्यानेजमेन्टबाट सुरु भएको यस अनुसन्धान प्रभु बैंकसम्म पुगेको हो । बैंकसम्म अनुसन्धान सुरु हुुँदा बैंकका लगानीकर्ता र सर्वसाधरणले बैंकमाथि अविस्वास गर्न थाले ।

बैंकमाथि अविस्वास सुरु भएको परिणाम बैंकको वित्तीय विवरणमा परेको हो । जसकारण बैंकले वित्तीय विवरण नै ठूलो दबाब झेलिरहेको छ । बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनलाई २०८२ कात्तिकमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो भने मंसिर १४ गते बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जना पक्राउ परेका थिए ।

बैंकका पदाधिकारी पक्राउ पर्ने क्रम यतिमा नै रोकिएको छैन । सीआईबीले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि लिएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरणमा पनि बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरेर ५ जना पक्राउ परेका छन् । यस कसुरमा शशिधर शर्मा, बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त, बुटवल शाखामा कार्यरत राजेन्द्र श्रेष्ठ तथा शाखा प्रबन्धक द्वय सन्तोष ज्ञवाली, शिशिर पौडेल र नन्दराज जोशीलाई सीआईबीले पक्राउ गरेको छ । 

नेतृत्व परिवर्तन र वित्तीय सूचकमा देखिएको कमजोरीले बैंकको व्यवस्थापन, खराब कर्जा असुली तथा व्यवसाय विस्तारको रणनीतिमाथि नै प्रश्न उठेको छ । नयाँ नेतृत्वसामु बिग्रँदो सम्पत्तिको गुणस्तर सुधार्नु, खराब कर्जा नियन्त्रण गर्नु र बैंकको नाफा तथा वितरणयोग्य मुनाफालाई सकारात्मक दिशामा लैजानुपर्ने चुनौती थियो नै । नयाँ सीईओ बनेर प्रभु बैंक छिरेका बैंकर सुमन शर्माले झेल्न सकेनन् । फलस्वरूप बैंकको वित्तीय विवरण सुधार हुन सकेन ।

सीईओ शमाले जिम्मेवारी सम्हालेको ६ महिनामा सार्वजनिक भएको वित्तीय विवरण निराश जनक देखिएको हो । वित्तीय विवरण निराश जनक देखिएपनि बैंकका सीईओ भने बैंकिङ्ग क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई देखाएर उम्कन खोजिरहेका छन् । ब्याज आम्दानी बढ्दा बढ्दैपनि नाफा घटाएको बैंकले कर्जाको मागमा कमी आउनुलाई प्रमुख चुनौती मानेको छ । ‘इरान, इजरायल र अमेरिकाबिच बढेको भूराजनीतिक तनावका कारण विश्वव्यापी तेल तथा वस्तुको मूल्य वृद्धि भएको छ । यसले मुद्रास्फीति, आयात लागत वृद्धि, विदेशी विनिमयमा दबाब, विप्रेषण आप्रवाहमा कमी, आर्थिक गतिविधिमा सुस्तता, कर्जाको मागमा कमी तथा कर्जा जोखिममा वृद्धि जस्ता प्रभावहरू निम्त्याएको छ’ बैंकले भनेको छ । 

बैंकले वित्तीय विवरणमा नै शाखा सञ्जाल विस्तार तथा व्यावसायिक प्रक्रियाको जटिलता बढ्दै जाँदा सञ्चालन जोखिम व्यवस्थापनमा चुनौती बढिरहेको बताएको छ । गैर–ब्याज आम्दानी बढाउन चुनौती, समस्याग्रस्त तथा बिग्रिएका कर्जाको असुली र कर्मचारी व्यवस्थापनमा समस्या रहेको बैंकले नै प्रस्ट पारेको छ ।