बीओके र हिमालयन बैंकले ८ वर्षपछि जिते डेढ अर्बको मुद्दा, पैसा तिर्न चाइना रेल्वेलाई अदालतको आदेश

बीओके र हिमालयन बैंकले ८ वर्षपछि जिते डेढ अर्बको मुद्दा, पैसा तिर्न चाइना रेल्वेलाई अदालतको आदेश


बैकिङ्ग समाचार । 
हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा साढे १ अर्बको मुद्दा जितेका छन् । यो सँगै ८ वर्षदेखि मेलम्ची खानेपानी परियोजनामा फसेको डेढ अर्ब रुपैयाँ चीनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरो कम्पनी मार्फत नेपाली बैंकले फिर्ता पाउने भएका छन् ।

बैंकका तर्फबाट मुद्दा लडेका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले मेलम्चीको चाइना ब्यूरो रेलवे १५ र मेलम्ची बीचको मुद्दामा चीनको जिल्ला अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई १ अर्ब ५० करोड रुपैयाँ फिर्ता दिनु भन्ने फैसला गरेको बताए । 

गत फेब्रुअरी १५ मा भएको बहसमा अदालतले बैंकलाई मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गरेको सबुत प्रमाण पेश गर्न एक महिनाको समय दिएको थियो। त्यसपछि दुवै बैंकले आफ्नो खाताबाट मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी दिएको प्रमाणका लागि आवश्यक सम्पूर्ण कागजात अदालतमा पेश गरेका थिए। 

यी दुई बैंकले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनीका तर्फबाट काउन्टर ग्यारेन्टी बसेका थिए ।

तर, आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको चाइना रेल्वे सम्झौताको १५ प्रतिशत भुक्तानी लगेर कामै नगरी २०६९ भदौमा भागेको थियो ।

मूख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन्स बैंकले रकम भुक्तानी नगरेपछि मेलम्ची आयोजनाले सहायक काउन्टर ग्यारेन्टी बसेका बीओके र हिमालयन बैंकसँग क्षतिपूर्तिको दाबी गरेको थियो ।

मेलम्ची जमानतको रकम भुक्तानी भए बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जना फिर्ता पाउने छ। यो नेपाली रुपैयाँमा करिब ९० करोड हुन आउँछ। हिमालयन बैंकले पनि ६६ करोड फिर्ता पाउने छ।