प्रभु महालक्ष्मी लाइफको नाफामा सामान्य वृद्धि, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अधिकांश सूचक सकारात्मक देखिएको छ। कम्पनीले गत आर्थिक वर्षमा ३७ करोड ५५ लाख खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नाफा ३७ करोड ७ लाख रहेको थियो।

कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४९ करोड ८४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ५ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ रहेको थियो। कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले ६ अर्ब २६ करोड ५७ लाख खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ५ अर्ब १७ करोड ९७ लाख रहेको थियो।

कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ । गत आर्थिक वर्षकोमा कम्पनीको जीवन बीमा कोषमा १८ अर्ब ३६ करोड ८१ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कोष १३ अर्ब ८३ करोड ३६ लाख रहेको थियो। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०८ पैसा रहेको छ।

हाल कम्पनीको ५ अर्ब ३० करोड चुक्ता शेयरपूँजी रहेको छ भने महाविपत्ति कोषमा १४ करोड ८५ लाख, रिटेन्ड अर्निङमा ४२ करोड ८२ लाख र अन्य इक्विटीमा २८ करोड ३७ लाख रहेको छ।