नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बोल्यो राष्ट्र बैंक, ‘नजिकबाट अनुगमन गरिरहेका छौं’


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि नेपाल राष्ट्र बैंकले पनि यसमा चासो दिएको छ । केन्द्रीय बैंकले प्रेस विज्ञप्ती नै जारी गरेर बैंकको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको तथा विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझाव लिई छलफल भइरहेको बताएको हो ।

हाल उक्त बैंकको तरलताको अवस्थालगायत वित्तीय सबलताका परिसूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डबमोजिम सन्तोषजनक रहेको हुँदा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको बताएको छ । हाल जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्था विद्यमान रहेकोले बैंक सञ्चालनको दैनिक अवस्थासहित मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यका आधारमा राष्ट्र बैंकबाट थप छलफल र कानुनी राय समेत लिई कानुनबमोजिम सञ्चालक समिति र उच्च व्यवस्थापन एवम् बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने बताएको छ ।