कृषि केन्द्रीय संघ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रीपक्षीय सम्झौता सम्पन्न


काठमाडौं –नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र दुग्ध विकास संस्थानबीच दुध खरिदबिक्री गर्नेबारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। दुग्ध विकास संस्थान लैनचौरमा आज भएको उक्त सम्झौता अनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानले १५ हजार दुध दैनिक डीडीसीलाई उपलब्ध गराउने भएको हो।


सम्झौताअनुसार आगामी दिनमा दैनिक ६० लिटर दुध डीडीसीलाई साझेदार संस्था एवं सदस्य किसानले डीडीसीलाई प्रदान गर्ने उल्लेख छ । डीडीसीले यी दुई संस्थाका सञ्जालमार्फत यसअघि दुध लिएर तिर्न बाँकी रकम आगामी एक महिनाभित्र भुक्तान गरिसक्नुपर्ने, दुधको मात्रा र गुणस्तर सुरुआती सङ्कलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने तथा दुध को कन्भर्जको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।

सम्झौतापछि संस्थानका महाप्रबन्धक डा.सरनकुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवर्द्धन गर्न यो सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। उनले सहकारीको मूलमर्मलाई स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाहरूले गरेको योगदान प्रति प्रशंसा गर्दै यस सञ्जालसँग जोडिएर डीडीसीले काम गर्न पाउँदा खुसी व्यक्त गरे। उनले दुग्ध सङ्कलन र बजारीकरण मात्र नभई पशुपालन तथा दुग्ध उत्पादनको बहुआयमिक क्षेत्रमा काम गर्ने स्पष्ट पारे।

डीडीसीमा विगतदेखिका भुक्तानीलगायतका समस्याहरू अब नदोहोरीने भन्दै महाप्रवन्धक पाण्डेले नियमित भुक्तानीको ग्यारेन्टी गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साझा प्रयास र पहलबाट मात्र समृद्धि सम्भव रहेको भन्दै उहाँले यस सम्झौताले यी सबै बाटो खुलेको बताए। किसानको जीवनस्तर सुधारसँगै आर्थिक सामाजिक रूपान्तरणमा सुधार ल्याउन सके समग्र अर्थतन्त्रमा सुधार गर्न सकिने बताए।

यसैगरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानको आयआर्जन बढाउने, उत्पादन बढाउने र आत्मनिर्भता बढाउने कार्यमा यो सम्झौताबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रममा विगतका वर्षहरूदेखीनै आफूहरूले साथ सहयोग दिँदै अगाडि बढेको भन्दै यो सम्झौताले सहकार्यको अर्को ढोका खोलेको बताए।

अध्यक्ष पाठकले प्रधानमन्त्री वालेन्द्र शाहको समेत प्राथमिकतामा परेको डीडीसीलाई माथि उठाउन किसानतहबाटै सबैको साथ सहयोग आवश्यक रहेको बताए। उनले दुध मा देशलाई आत्मनिर्भर बनाउने बाटोमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

डीडीसीप्रतिको विगतको धारणा बदल्दै सुधारको सुरुआत भइसकेको प्रष्ट देखिसकिएको उनले अब नयाँ पहलमा दुग्ध उत्पादक किसानहरू ढुक्क भएर यस अभियानमा जोडिन आग्रह गरे। उनले कहीँकतै कुनै कमीकमजोरी भएको देखे तत्काल सुधारका लागि सुझाव दिन सबैलाई अनुरोध गरे।

यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष एकराज उप्रेतीले डीडीसीसँग भएको सम्झौता नेपाली दुग्ध उत्पादक किसानका लागि एैतिहासिक दिन भएको उल्लेख गरे। उनले सबै किसानको जीवनमा आर्थिक रूपमा सवलता ल्याई मुहारमा खुसी थप्दै जान यस सम्झौताबाट सहयोग पुग्ने स्पष्ट पारे।

अहिले केन्द्रीय सङ्घको सञ्जालमा रहेका संस्थाहरूले दैनिक ४७ हजार लिटर दुध उत्पादन गर्दै आएको उल्लेख गर्दै उहाँले उत्पादनलाई बढावा दिँदै जाने विषयमा समेत यस सम्झौताले प्रेरणा थप्ने बताए। अहिले तत्कालका लागि १५ हजार लिटर दुध डीडीसीलाई दिने सम्झौता भएको भन्दै अध्यक्ष उप्रेतीले दुध बेचेको पैसा समयमै प्राप्त गर्ने सुनिश्चितता हुने कुरामा आफू विश्वस्त रहेको बताए।

सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका महाप्रबन्धक डा. रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा सरनकुमार पाण्डेले हस्ताक्षर गरेका थिए।