प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब नाघ्यो, ईपीएसमा पनि सुधार

प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब नाघ्यो, ईपीएसमा पनि सुधार


बैकिङ्ग समाचार ।
प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइमले १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ करोड ७८ लाख ६७ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। साे अवधिसम्ममा बैंककाे वितरण याेग्य मुनाफा ३३ कराेड ८४ लाख ४६ हजार रूपैयाँ रहेकाे छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा २७.२४ रुपैयाँ रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा १.८७ रुपैयाँ बढेर २९.११ रुपैयाँ पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५४.२६ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ९.८६ गुणा कायम भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९ करोड ३ लाख ३१ हजार रुपैयाँ बढेर १ अर्ब ५५ करोड ८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५० करोड ३१ लाख ५४ हजार रुपैयाँ बढेर १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुगेको छ।

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २ अर्ब १२ करोड ७ लाख रुपैयाँ र शेयर प्रिमियममा ६ लाख ४४ हजार रुपैयाँ सञ्चित छ। गत आवको अन्त्यसम्ममा यी तीन शीर्षकहरुमा क्रमशः ४ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ, १ अर्ब ७६ करोड ४३ लाख र ६ लाख ४४ हजार रुपैयाँ सञ्चित थियो।

पछिल्लो ३ महिनामा बैंकको निक्षेप १ खर्ब १९ अर्बबाट बढेर १ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा १ खर्ब १० अर्बबाट बढेर १ खर्ब १३ अर्ब पुगेको छ। कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर १.३७ विन्दुमा पुगेको छ। गत आवको असोज मसान्तमा ५.१८ प्रतिशत रहेको बैंकको स्प्रेड दर चालु आवको सोही अवधिमा ४.४० प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको आधार दर ९.६७ प्रतिशतबाट ८.१२ प्रतिशतमा झरेको छ। बैंकको कष्ट अफ फण्ड ६.२६ प्रतिशत रहेको छ भने सिसिडि रेशियो ८०.०३ प्रतिशत कायम भएको छ।