सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।  
सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने कार्तिक १६ गते(आज)आईतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक १७ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । 

त्यसैले कार्तिक १६ गते आईतबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकको कार्तिक ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बैंकको १६औंं वार्षिक साधारणसभा कार्तिक २८ गते शुक्रबार आम्रपालि ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने भएको छ ।

सभामा बैंकको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद गरि कुल १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

त्यस्तै सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पनि पारित गरिने भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विषयहरु छलफल गरी पारित गरिने बैंकले जनाएको छ ।