कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?


बैकिङ्ग समाचार ।
कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ३ प्रतिशतले धेरै हो ।

बैंकले देव विकास बैंकलाई प्राप्ती गरी गत आवको अन्तिम त्रैमासमा एकीकृत कारोबार थालेको थियो। मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएकाले बैंकका शेयरधनीले बोनस शेयरमा कर तिर्नुपर्दैन । यसो हुँदा लगानीकर्ताले १४ प्रतिशत लाभांश पूरै हात पार्नेछन् ।

बैंकले अघिल्लो आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

देव विकास बैंकलाई प्राप्तिपछि कुमारी बैंकले गत आव २०७६/७७ मा एक अर्ब २२ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षमा बैंकको वितरण योग्य मुनाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको थियो।

चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ कायम भएको थियो । यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १३६.४७ रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा लगानी अघिल्लो आवको तुलनामा ५० प्रतिशत धेरैले वृद्धि हुँदा दुबै १ खर्ब १६ अर्ब माथि पुगेको थियो । यस्तै बैंकको जगेडा कोषको आकार पनि ८२ प्रतिशतले वृद्धि भई ३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको थियो।